Staff Exposure Visit


गीता तिमल्सिना Source: https://www.sangamdainik.com/2024/1621


‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार, मार्‍यो नि मायाले मार्‍यो’

कृष्णविक्रम थापाले २०३७ सालमा रेडियो नेपालमा गाएको यो गीत हाम्रो जिब्रोमा झुण्डिएको छ । यो गीतका गायकको स्वर्गारोहण भइसकेपनि सिर्जना भने जिवन्त छ । यो गीत नसुन्ने पुरानो पुस्ताका मानिस त कमै होलान् । नयाँ पुस्ताका युवा युवती रक,र्‍याप र पप गीत सुन्नेलाई नौलो लाग्न सक्छ । यो गीतले तत्कालीन परिस्थितका साथै इतिहास, संस्कृति, परम्परा र भूगोलको पनि चर्चा गरेको छ । यो गीतको प्रसङ्ग ग्रामीण सामुदायिक संस्था विकास (रिकोड)ले आफ्ना कर्मचारीका लागि आयोजना गरेको अध्ययन अवलोकन भ्रमणको नियात्रा लेख्ने क्रममा कोट्याइएको हो ।

पुसको महिना । चिसो बिहान । पुस ११ गते चापागाउँबाट सिन्धुलीगढी हुँदै धरान पुग्ने कार्ययोजना थियो । बिहान उज्यालो भुँइमा खस्न नपाउँदै हामी गाडी चढेर अगाडि बढ्यौँ । उज्यालो हुँदा साँगा भञ्ज्याङ काट्यौँ । हाम्रो गाडी भकुण्डेबेशी पुगेर घ्याच्च रोकियो । चिया र खाजाका लागि गाडी रोकिएको थियो । रिकोडको खाद्य सुरक्षा र पोषण सुधार परियोजनामा काम गर्ने हामी खाना खाजाको समय र पाइने पौष्टिकतामा सचेत नै छौँ । बनेपा, भकुण्डेवेसी, नेपालथोक, खुर्कोट हुँदै खनियाखर्क पुगिन्छ । हाइवेमा ऐतिहासिक सिन्धुलीगढी प्रवेशद्वार लेखिएको स्वागतद्वार पनि छ । सिन्धुलीगढी कमलामाई नगरपालिकामा पर्दछ । हाम्रो पहिलो गन्तव्य सिन्धुलीगढी थियो । स्थानीय सरकारले गौरव गर्न लायक यो गढीलाई कमलामाई नगरपालिकाले स्रोत जुटाउने मुख्य आधार बनाउन सक्छ ।

विसं १८२४ असोज १५ गते गोर्खाली सेनाले अङ्ग्रेज सेनासँग युद्ध गरी प्राप्त गरेको सफलताले मुलुकको एकीकरणलाई सहयोग पुगेको थियो । तत्कालीन इष्ट इन्डिया कम्पनीका कप्तान किन लकको नेतृत्वमा नेपाल कब्जा गर्न आएको अङ्ग्रेज फौजलाई यस गढीको आसपास क्षेत्रमा गोरखाली सेनाले पराजित गरेको थियो । यही वीरता बुझाउने यहाँको दरबारले अहिलेको पुस्तालाई इतिहाससँग जोडेको छ । यो गाथा हामीले इतिहासका पाना पल्टाउँदा भेट्छौँ र त वीर गोर्खाली अङ्ग्रेजसँग झुकेको थिएन भनेर हामीसमेत नाक ठड्याउँछौँ । नेपालीहरूको वीरता र सुरताको गाथा बोकेको सिन्धुलीगढी युद्धका दस्तावेजहरूको संग्रहालय एकै स्थानमा संग्रहित गरिएसँगै आन्तरिक पर्यटक सिन्धुलीगढी पुग्न थालेका छन् । त्यसमा हामी पनि थपिन पुग्यौँ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको सम्मान र सम्झनालाई चीर स्थायी बनाउन पुष्पलाल मार्ग नामाकरण गरिएको छ । बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भञ्ज्याङसम्मको पहाडी मार्ग नै पुष्पलाल मार्ग हो । त्यसकै केही अंश हुँदै हामी धरान पुग्यौँ । धरान अहिले राजनीतिक रूपमा पनि चर्चित ठाउँ हो । हर्क साङपाङ धरान नगरपालिकाका मेयर भएपछि श्रमदान गर्ने गराउने समाचार अइरहेकाले यहाँको चर्चा थपिएको हो । धरानको परिचयका लागि हर्क साङ्पाङ्भन्दा यहाँका धार्मिक स्थल नै काफी छन् । बुढासुब्बा, दन्तकाली र पिण्डेश्वर निकै चर्चित धरानका धार्मिक स्थल हुन् । पुस १२ गते दिनभर यहाँका धार्मिक स्थलमा नै बिताइयो । हामीसँग संस्थाकी उपाध्यक्ष रचना महर्जन, सदस्य सुशीला तिमल्सिना र परियोजना संयोजक कुञ्जना पाण्डेसँगै सहकर्मी साथीहरू हुनुहुन्थ्यो । यात्राका क्रममा गरिने गफगाफ र दोहोरी गीत गाउँदा र मादल घन्काउँदा हामी बेलाबेलामा समुदायस्तरमा गर्नुपर्ने परियोजनाका क्रियाकलाप र कार्यक्रम गर्न आइपर्ने चुनौती र समस्या भुल्थ्यौँ । सायद संस्थाले यस्तै रिफ्रेस होस् भनेर नै यो कार्यक्रम राखेको होला । बुढासुब्बामा ठिङ्ग ठडिएका बाँसमा डोरो बाँधेर मनकाङ्क्षा पुरा हुने भए यहाँ सडकमा व्यापार गर्नेले के चाँहि मागेनन् होला । तरपनि हामीले विश्वास गर्न छाडेनौँ । धागो डोरो बाँध्यौँ र आआफ्नो माग्ने कुरा माग्यौँ । फल पाउनलाई कर्म त गर्नै पर्छ तर पनि दुनियाको विश्वासलाई घात गर्न पनि त भएन नि ! धर्मकर्म गर्दै संस्थाको परियोजनासँग जोड्न मिल्नेजति विषयमा जोड्दै यात्रा अघि बढि नै रह्यो । यहाँको सोताङ अर्गानिक कृषि फर्मको अवलोकन गरियो । तरकारीको उत्पादन र पशुपालनमार्फत गरिने आम्दानी तथा त्यसबाट पाइने पोषणलाई हामीले थपक्कै आफ्नो परियोजनासँग जोड्यौँ । हुन त म पनि केही वर्ष अघिसम्म कृषि कर्म गरेकै व्यक्ति हुँ । ललितपुरको देवीचौरमा भैँसीपालन र बारीमा बालीनाली लगाउँदाको कडा परिश्रम र अनुभव यहाँको कृषि फर्मसँग तुलना गरेर हेरेँ । व्यवसायिकता र निर्वहामूखी कामको पनि तुलना गरेँ र मनमनै भनेँ काम गरेपछि व्यवसायिक नै गर्नु ज्यादै राम्रो । अहिले त व्यवसायिक काम गर्नका लागि सरकारको भरपुर सहयोग हुन्छ । मैले कृषि कर्म गर्ने बेलामा उतीसारो त्यस्तो सहयोग थिएन ।

धनकुटा । पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमूकाम । अहिले प्रदेश भएपछि कोशी प्रदेशको सदरमुकाम विराटनगर भएको । नत्र लामो समय क्षेत्रीय सदरमुकामको विरासत धनकुटाले नै बोकेको हो । धनकुटा प्रवेश गर्ने बित्तिकै पर्यटकीय स्थल भेडेटार पुगिन्छ । हुन त भेडेटार सुनसरी र धनकुटाको सिमास्थल पनि हो । यहाँ निकै चिसो हुन्छ भन्ने सुनेको थिएँ । त्यसमाथि जाडो महिना । चिसो त जहाँ गएपनि हामी सँगसँगै उपस्थिति जनाइहाल्थ्यो नि ! हिले र पाख्रिबास पनि पुग्यौँ । पाख्रिबासको कृषि अनुसन्धान केन्द्रमा पनि हामीले अवलोकन गरी तरकारी, फलफूल र पशुपालनबाट हुने आम्दानी र खाद्य सुरक्षा तथा पोषण सुधारमा यसले पार्ने प्रभावबारे तादम्यता मिलाउने प्रयास गर्‍यौँ ।

अर्को दिन हामी कोशी टप्पु जाने योजनामा थियौँ । समय व्यवस्थापनका हिसाबले हामी कोशी टप्पुको गेटबाटै अन्यत्र लाग्यौँ । बराह क्षेत्रको घुमाघाम सकेर हामी धरानमा नै बास बस्यौँ । चौथो दिन हामी कोशी व्यारेज हुँदै जनकपुर पुग्यौँ । कोशी व्यारेजमा पुग्दा समुन्द्रकै झल्को दिने । डुङ्गा सयर गरेर हाम्रो यात्रा अघि बढ्यो । बरमजियाको पेडाका कुरा त धेरै सुनिएको थियो । त्यहाँ पुगेर स्वाद पनि लिइयो । कुन असली बाजेको पसल कुन नक्कली बाजेको छुट्याउनै कठिन । त्यहाँ वरपर बाजेकै पसल थिए । तर कसका बाजे । कस्ता बाजे केही भेउ नै पाइएन । त्यहाँबाट जनकपुर पुगियो । जानकी मन्दिर वरपर घुम्ने र गङ्गासागरको आरतिमा सहभागी भएर चौथो दिनलाई विदा गरियो । मधेसको मर्का बुझ्नका लागि यो यात्राले केही न केही साथ दियो । गाडीबाट हिँड्दा देखिएका बस्ती र बजारतिर भेटिएका मानिसको लवाइखवाई हेर्दा गरिबीको वास्तविकताले चिमोटे झैँ लाग्थ्यो । पाँचौ दिन हामी भरततालको किनारामा पुगेर मकवानपुरगढी हुँदै कान्ति लोकपथबाट चापागाउँ नै आइपुग्यौँ । बागमती बगरमा बनाइएको बागमती फिसरी पन्ड भरत तालमा बिहानैदेखि पर्यटकहरूको चहलपहल बाक्लिन थालेको थियो । सर्लाही जिल्लाको बागमती नगरपालिकामा पर्ने ताल कृत्रिम हो । मेयर भरत थापाको पहलमा बनाएकाले नामै भरत ताल रहेको स्थानीयले बताए । कहाँको काठमाडौँको बागमती कहाँको सर्लाहीको । तुलना गर्नै नमिल्ने । सर्लाहीसम्म पुग्दा त सङ्लो न सङ्लो पानी । ताल किनारैबाट हामीले यात्रा छोट्यायौँ । हामी हुइँकियौँ मकवानपुरगढीको गन्तव्य भेट्न ।

मकवानपुरगढीका बारेमा जिल्ला समन्वय समिति मकवानपुरले यस्तो लेखेको रहेछ-

नुवाकोट विजयपछि पृथ्वीनारायण शाहले मकवानपुरमा हमला गरेका थिए। काठमाडौंका मल्ल राजाहरूलाई कमजोर पार्ने रणनीतिअनुसार उनको रोजाइमा मकवानपुर परेको थियो। नेपाल एकीकरणमा मकवानपुर गढीको महत्व यसले देखाउँछ। ९ भदौ १८१९ मा पृथ्वीनारायण शाहको फौज विजय भएको थियो ।

पहिलो गन्तव्य सिन्धुलीगढी बनाएर यात्रामा निस्केको टोलीले यो यात्राको अन्तिम गन्तव्य मकवानपुरगढीलाई बनाएको थियो । समुदाय स्तरमा काम गरेका हामी समुदाय सहजकर्तालाई कम्तीमा पनि वर्षको एकपटक देशका विभिन्न ठाउँमा केही सिक्न र बुझ्नका लागि भ्रमण गराउँदा फ्रेस हुने रहेछ । समुदायमा काम गरिरहेका हामीलाई पाँच दिनको अवलोकन भ्रमण साँच्चै मुड फ्रेसका लागि लाभदायक बन्यो । देशको विविधतासँगै यात्राका क्रममा हेरेर, गफिएर र कुराकानी गरेर पनि पोषण सुधार र परियोजनाका क्रियाकलापसँग जोड्न मिल्ने विषयवस्तुले अध्ययन भ्रमण सफल रहन गयो । पूर्वी क्षेत्रका केही भाग मात्रैको भ्रमण भएको भएपनि देश बुझेको महसुस् भयो । देश बुझेर फर्किएपछि आफ्नै परिवेशमा कामका लागि मैदानमा खटिएर परियोजना सफल पार्न म दगुरिरहेको छु । समाजसँग सास् फेर्दै, संस्थाको उद्देश्य हेर्दै अनि क्रियाकलापसँग कसिँदै । उही कर्म, उही क्षेत्र, उही समूह र उही समुदाय । बास ! सिक्ने र सिकाउने तरिकामा केही फरकपन । उदाहरण र प्रस्तुतीमा परिपक्कता !


(तिमल्सिना ग्रामीण सामुदायिक संस्था विकास (रिकोड)की समुदाय सहजकर्ता हुन् )

Powered by Instack Technologies Pvt. Ltd.